पर्सा,१६ माघ । देश र जनताको अधिकार तथा स्वतन्त्रताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने वीर शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदै छ।

नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध भएका प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा जीवन बलिदान गर्ने शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने परम्परा रहेको छ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धाहरूको साहस, संघर्ष र बलिदानको स्मरण गर्दै आज विशेष कार्यक्रम आयोजना गरिएको छ।

देशका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा सक्रिय सहभागिता जनाई राष्ट्रका लागि वीरगति प्राप्त गर्ने शहीदहरूको त्याग र योगदानको उच्च मूल्याङ्कन गर्दै शहीद दिवस मनाइने गरिएको हो।

वि.सं. १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्ध नेपाल प्रजा परिषद् स्थापना गरी जनतालाई आफ्नो हकअधिकारका लागि सङ्घर्ष गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो।

त्यसै वर्ष माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो।

शहीद दिवसको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ।