पर्सा, १६ माघ।नेपाली कांग्रेस मधेश प्रदेशको आयोजनामा पर्सा जिल्लामा ऐतिहासिक बृहत् पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। लोकतन्त्र, समावेशिता र जनमुखी राजनीतिप्रति जनताको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्ने यस कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं नागरिकहरूले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्ने प्रमुख व्यक्तित्वहरूमा पोखरिया नगरपालिका वडा नं. १० का पूर्व गा.वि.स. अध्यक्ष शंकर राउत अहिर तथा पोखरिया नगरपालिका वडा नं. २ निवासी पूर्व वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादवलगायत उल्लेखनीय व्यक्तित्वहरू रहेका छन्।

नवप्रवेशीहरूलाई खादा लगाएर स्वागत गर्दै सभापति थापाले नेपाली कांग्रेस लोकतन्त्रको मेरुदण्ड र जनताको भरोसाको पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति दृढ रहँदै देश निर्माणमा सक्रिय भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रम पर्सा क्षेत्र नं.–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीको नेतृत्वमा सम्पन्न भएको हो। चौधरीको समन्वय, संगठन क्षमता र जनस्तरसँगको गहिरो सम्बन्धकै कारण पर्सा क्षेत्रमा नेपाली कांग्रेसप्रति आकर्षण तीव्र रूपमा बढिरहेको शैलेन्द्र यादवको भनाइ थियो। लामो समयदेखि जनताको समस्या, अधिकार र विकासका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका चौधरीलाई एक कर्मठ, इमानदार र जनप्रिय नेताका रूपमा कार्यक्रमभरि वक्ताहरूले प्रशंसा गरेका थिए।

स्थानीय नेता–कार्यकर्ता, युवाहरू, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, समावेशी विकास र जनअधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसको नेतृत्व निर्णायक हुने विश्वास व्यक्त गरे। विशेषगरी मधेशका मुद्दा, युवाको भविष्य र स्थानीय विकासका सवालमा उम्मेदवार चौधरीको स्पष्ट दृष्टिकोणले जनताको भरोसा जित्दै गएको उल्लेख गरियो।

कार्यक्रमको अन्त्यमा पार्टी प्रवेश गर्ने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेस परिवारले हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै, आगामी दिनमा उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीको नेतृत्वमा पर्सा क्षेत्र नं.–३ मा नेपाली कांग्रेसलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।