पर्सा, १६ माघ।पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिकाको वडा नम्बर–४ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आज आयोजना गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो भने जनसागरजस्तै भिडले स्थानीय राजनीतिक माहोल झनै तातिएको देखिएको छ।

घरदैलोका क्रममा जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. कृपासिन्धु चौधरीलाई स्थानीय नागरिकहरूले खुलेर साथ, समर्थन र आशिर्वाद दिएका थिए। “भाषण होइन, काम चाहियो” भन्ने स्पष्ट नारासहित अघि बढिरहेका चौधरीको विकासमुखी सोच, युवामैत्री दृष्टिकोण र व्यवहारिक योजनाको स्थानीयस्तरमै सकारात्मक मूल्यांकन भएको देखिएको छ।

स्थानीय नागरिकहरूसँगको प्रत्यक्ष संवादका क्रममा उम्मेदवार चौधरीले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, पूर्वाधार विस्तार तथा सुशासनप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए। उनका योजनाले विगतको निराशाजनक राजनीतिबाट दिक्क भएका मतदातामा नयाँ आशा जागेको स्थानीयहरूको प्रतिक्रिया छ।

घरदैलो कार्यक्रममा सहभागी सर्वसाधारणले “अब परिवर्तन चाहियो”, “पुरानै अनुहार होइन, नयाँ सोच र काम गर्ने प्रतिनिधि चाहियो” भन्दै चौधरीप्रति विश्वास व्यक्त गरेका थिए। यसले पर्सा–४ मा परिवर्तनको पक्षमा जनमत क्रमशः बलियो बन्दै गएको संकेत गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा छिपहरमाई–४ मा देखिएको जनउत्साहले जसपा र उम्मेदवार चौधरीको अवस्थालाई थप मजबुत बनाएको छ। बढ्दो जनसमर्थन र स्थानीयस्तरमा प्राप्त विश्वासका आधारमा यस निर्वाचनबाट पर्सा–४ को राजनीतिक मुहार फेरिने सम्भावना प्रबल बन्दै गएको देखिन्छ।

घरदैलो कार्यक्रममा पूर्व मन्त्री तथा उर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयका पूर्व जिम्मेवार नेता माननीय सिंगासन साह कलवार, रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह, हिमान्चल कुश्वाहा, रामसीश कुशवाहालगायत जसपाका थुप्रै नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।