काठमाडौं, माघ १६ । लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि जीवन आहुति दिएका नेपाली अमर शहीदहरूको सम्झनामा आज देशभर राष्ट्रिय शहीद दिवस श्रद्धा, सम्मान र गर्वका साथ मनाइएको छ। काठमाडौंको शान्तिवाटिका, रत्नपार्कदेखि लैनचौरस्थित शहीद स्मारकसम्म नागरिक, जनप्रतिनिधि र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसै अवसरमा भारतका चर्चित अन्तर्राष्ट्रिय लीफ आर्टिस्ट मधुरेन्द्र कुमारले आफ्नो विशिष्ट र सृजनात्मक कलामार्फत नेपाली शहीदप्रति अन्तर्राष्ट्रिय सम्मान व्यक्त गर्नुभएको छ। उहाँले करिब पाँच घण्टाको निरन्तर साधनापछि विश्वकै अत्यन्त सानो हरियो पीपलको पातमा सूक्ष्म कलाकृति उकेरिँदै लोकतन्त्रका लागि वीरगति प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको स्मृतिलाई कलामार्फत जीवन्त बनाउनुभएको हो।

उक्त कलाकृतिमा नेपालको राष्ट्रिय झण्डासहित माथिल्लो भागमा “माघ १६ जय नेपाल” लेखिएको छ भने तल्लो भागमा “शहीदहरूलाई सलाम” भन्ने सन्देश समेटिएको छ। अत्यन्त बारीक र आकर्षक उक्त कलाकृतिको तस्बिर हाल सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

पत्रकारहरूसँग कुरा गर्दै लीफ आर्टिस्ट मधुरेन्द्र कुमारले वि.सं. २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको पहलमा प्रत्येक वर्ष माघ १६ लाई राष्ट्रिय शहीद दिवसका रूपमा मनाउने परम्परा सुरु भएको जानकारी दिनुभयो। उहाँले शहीदहरूको त्याग, साहस र राष्ट्रप्रतिको समर्पणले नै नेपाली लोकतन्त्रको आधार निर्माण भएको उल्लेख गर्नुभयो।

आजको दिन नेपाली शहीदहरूको अदम्य साहस, बलिदान र देशप्रतिको निष्ठालाई स्मरण गर्दै राष्ट्रभर श्रद्धा र सम्मान व्यक्त गरिएको छ। प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी, सुरक्षा निकाय, जनप्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूले शहीद स्मारक पुगेर ज्ञात तथा अज्ञात शहीदप्रति सम्मान प्रकट गरेका छन्।