पर्सा। पर्सा जिल्लामा बैंक तथा लघुवित्त संस्थाका कर्मचारीहरू किस्ता संकलन तथा ऋण उठाउने क्रममा कुटपिट, लुटपाट, डकैती तथा कालोमोसो दल्ने जस्ता आपराधिक गतिविधि बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरी र बैंक तथा वित्तीय संस्थाबीच समन्वयात्मक पहल थालिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा, कारी शाखाबाट क्रम संख्या ७३०२ मिति २०८२/१०/०७ गते प्राप्त पत्रादेशअनुसार इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली मातहतका क्षेत्रहरूमा कार्यरत बैंक तथा लघुवित्त संस्थाहरूका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। उक्त कार्यक्रम मिति २०८२ साल माघ १५ गते बिहीबार इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको कार्यालयमा सम्पन्न भएको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक समुन्नत अधिकारीको विशेष उपस्थिति तथा सक्रिय भूमिका रहेको थियो। कार्यभार सम्हालेको छोटो समयमै प्रहरी निरीक्षक अधिकारीले जनमुखी र व्यवहारिक कार्यशैली अपनाउँदै बैंक तथा लघुवित्त संस्थाका कर्मचारीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर काम सुरु गर्नुभएको सहभागीहरूले बताएका छन्।

प्रहरी निरीक्षक अधिकारीले किस्ता संकलन तथा ऋण उठाउने क्रममा कर्मचारीहरूले भोग्दै आएको जोखिम, डर र असहज अवस्थालाई गम्भीर रूपमा लिइएको बताउँदै यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। उहाँले प्रहरी–जनता–वित्तीय संस्था साझेदारी कार्यक्रमले भविष्यमा यस्ता घटनामा उल्लेख्य कमी आउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी लघुवित्त बैंक तथा अन्य बैंकका शाखा प्रमुख तथा कर्मचारीहरूले प्रहरीसँग प्रत्यक्ष संवाद गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए। उनीहरूले यस किसिमको समन्वय कार्यक्रमले किस्ता संकलन तथा ऋण उठाउने क्रममा हुने जोखिम कम हुनुका साथै काम गर्ने वातावरण सुरक्षित र सहज हुने धारणा राखे।

लघुवित्त बैंकका शाखा प्रमुख इन्द्रेश कुमार महत्वले प्रहरीको साथ र समर्थनले कर्मचारीहरूको मनोबल उच्च भएको बताउँदै अब किस्ता संकलन तथा ऋण उठाउने कार्य थप सुरक्षित र व्यवस्थित ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्तो कार्यक्रम निरन्तर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रहरी र बैंक तथा लघुवित्त संस्थाबीचको यो साझेदारी कार्यक्रमले आगामी दिनमा किस्ता संकलन तथा ऋण उठाउने क्रममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।