काठमाडौं १७ माघ। शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आबाट आमा’ ले दर्शकसँग भावनात्मक सम्बन्ध गाँस्न थालेको छ। चलचित्रको कथा अधिकांश नेपालीको जीवनसँग मेल खाने बताउँदै अभिनेता पल शाह ले आफूले चाहेजस्तै भूमिका निभाउने अवसर पाएको बताएका छन्।

चलचित्र प्रदर्शनको पहिलो दिन काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका शाहले कथावस्तु खुल्ने डरले आफ्नो भूमिकाबारे धेरै बोल्न नमिल्ने बताए। तर, चलचित्रमा आफूले विशेष मेहनत गरेको उल्लेख गर्दै उनले ‘आबाट आमा’ नेपाली परिवार, गाउँ–समाज र आम मानिसको कथामा आधारित रहेको दाबी गरे।

“यो हाम्रो आफ्नै कथा हो। चलचित्र हेरेपछि दर्शकले अरूलाई पनि हेर्न सिफारिस गर्नुहुन्छ भन्ने विश्वास छ,” शाहले भने। चलचित्रमा पल शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपाली लगायत कलाकारको अभिनय रहेको छ/ अभिनेत्री विपना थापा ले कथावस्तुले नै आफूलाई चलचित्रमा जोडिएको बताइन्।

“यस चलचित्रको सबैभन्दा ठूलो आकर्षण नै कथा हो। दर्शकले आफ्नै जीवनको कथा जस्तो प्रतिक्रिया दिनु भएको छ, त्यसले हामीलाई उत्साहित बनाएको छ,” उनले भनिन्।

चन्द्र पन्त को निर्देशनमा बनेको ‘आबाट आमा’ मा अभिमन्यु निरवी को संवाद, गम्भीर विष्ट को नृत्य निर्देशन तथा कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को संगीत रहेको छ।

पारिवारिक भावना, सामाजिक यथार्थ र सम्बन्धको गहिराइ बोकेको ‘आबाट आमा’ ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।