पर्सा,१७ माघ।वीरगंज महानगरपालिका–४ बिर्तामा रहेको कृष्ण हस्पिटलमा उपचाररत बारा जिल्लाको महागढीमाई नगरपालिका–८ बेतावनाका २० वर्षीय हरेन्द्र माझीको मृत्यु भएपछि घटनालाई लिएर विवाद उत्पन्न भएको छ। मृतकका परिवारजनले चिकित्सकको लापरवाहीका कारण छोराको ज्यान गएको आरोप लगाएका छन्।

तीन दिनदेखि अस्पतालमा भर्ना भई उपचार गराइरहेका माझीको शुक्रवार बिहान अचानक अवस्था बिग्रिएपछि मृत्यु भएको अस्पतालले जनाएको छ। मृतककी आमा अनीता देवीका अनुसार, बिहान करिब नौ बजे हरेन्द्रले खाना खान इशारा गरेका थिए। तर केही समयमै अचानक उनको मृत्यु भएको खबर दिइएको थियो।

आमा अनीताले छोराको मृत्यु शंकास्पद रहेको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेकी छन्। उनका अनुसार, हरेन्द्र एक महिनादेखि क्षयरोगबाट पीडित थिए र सरकारी अस्पतालबाट नियमित औषधि सेवन गरिरहेका थिए। अत्यधिक खोकी र सास फेर्न समस्या भएपछि थप उपचारका लागि वीरगंज ल्याइएको थियो।

तर अवस्था गम्भीर बन्दै जाँदा पनि नजिकै रहेको नारायणी अस्पतालमा रेफर नगरिनु चिकित्सकको गम्भीर लापरवाही भएको परिवारको आरोप छ।

यता, अस्पताल प्रशासनले भने उपचारमा कुनै किसिमको लापरवाही नभएको दाबी गरेको छ। आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. सुदीप गुप्ताले बिरामी भर्ना हुँदा नै अवस्था गम्भीर रहेको र उपलब्ध सबै उपचार विधि अपनाइएको बताए। उनका अनुसार, चिकित्सक टोलीले आफ्नो क्षमताअनुसार सक्दो प्रयास गरेको थियो।

घटनाबारे थप अनुसन्धानको माग बढ्दै गएको छ।