नरेश यादव,पर्सा, १७ माघ। वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा नेपाली कांग्रेसको बैठक बुथ सभापति सुरेश पटेलको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भूतपूर्व मन्त्री अजय कुमार चौरसियाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेता चौरसियाले आफ्नो क्षेत्रअन्तर्गत विकास निर्माणका लागि आवश्यक सबै बजेट छुट्याइसकेको जानकारी गराए। तिलावे खोलामा पुल निर्माण, बिन्दवासिनीमा टेक्निकल कलेज स्थापना, वृद्धाश्रम तथा विभिन्न सडक कालोपत्रे गर्ने कार्यका लागि बजेट विनियोजन भए पनि आन्दोलनका कारण कार्यान्वयन हुन नसकेको उनले बताए। हाल चुनाव घोषणा भइसकेकाले निर्वाचनपछि पुनः निर्माण कार्यका लागि छुट्याइएको रकम फुकुवा गराई विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी बैठकमा कृषि तथा सहकारी मन्त्री माननीय श्याम पटेलले मधेश प्रदेशका लागि मलखाद अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै कृषकहरूलाई मूल बिउ तथा मलखाद समयमै उपलब्ध गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले प्रदेशमा सबैभन्दा बढी मलखाद उपलब्ध गराउने पहल आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे।

कार्यक्रमकै अवसरमा एमाले पार्टी परित्याग गरी सिंहासन पटेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेशी पटेललाई भूतपूर्व मन्त्री तथा प्रदेश मन्त्रीहरूले गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

बैठकमा क्षेत्रीय सभापति मोहम्मद साहबुदिन, उपसभापति अशोक गुप्ता, पूर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा, प्रदिप पटेल, मोहम्मद मियाँ चुरिहार, रिता देवी पासवान, रामानन्द पटेल, स्थानीय समाजसेवी, अगुवा युवा तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसैगरी, बहुदरमाई नगरपालिकाको डकैला बौहरीमा पनि नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ।