पर्सा, १७ माघ। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर–३ जयमंगलापुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजना गरिएको वडा स्तरीय अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी आयोजित उक्त भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण, तथा पार्टी पंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर र सार्थक छलफल गरिएको थियो।

भेलालाई सम्बोधन गर्दै पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपा नेपालका युवा, शिक्षित तथा जनप्रिय उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, अनुभवी नेतृत्वको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी तथा दिगो विकासको स्पष्ट खाका प्रस्तुत गरे।

डा. चौधरीले रोजगारी सिर्जना, आधुनिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा तथा सुलभ स्वास्थ्य सेवा आफ्नो प्रमुख प्राथमिकता रहने उल्लेख गर्दै जनताको जीवनस्तर उकास्ने योजनाबद्ध कार्यक्रमसहित आफू मैदानमा उत्रिएको बताए। उनले पर्सा–४ को समग्र विकासका लागि इमानदार नेतृत्व, पारदर्शी शासन र जनउत्तरदायी राजनीति अपरिहार्य रहेको धारणा राखे।

उनले आगामी निर्वाचनमा आ–आफ्नो बुथमा छाता चुनाव चिन्हमा मजबुत रूपमा मतदान गर्न सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गर्दै जसपा नेपाल नै मधेशको अधिकार, पहिचान र समृद्धिको बलियो आधार भएको स्पष्ट पारे।

कार्यक्रममा पूर्व ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री माननीय सिंगासन साह कलवार, रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह, हिमान्चल कुशवाहा, रामसीश कुशवाहा, बिरेन्द्र महतो लगायत पार्टीका अग्रणी नेता तथा ठूलो संख्यामा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलाले पर्सा–४ मा जसपा नेपालको संगठनात्मक गतिविधि थप सशक्त, सक्रिय र जनआधारित बन्दै गएको स्पष्ट संकेत गरेको छ।