काठमाडौं, १७ माघ।नेपाल आयल निगमले डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगमको सञ्चालक समितिको शनिबार बसेको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल/मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३८ रुपैयाँ र तेस्रो वर्गमा १३९ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी तथा नेपालगन्ज डिपो पहिलो वर्गमा, सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा र काठमाडौं, पोखरा तथा दिपायल डिपो तेस्रो वर्गमा राखिएका छन्। डिपोबाट १५ किलोमिटरको दूरीभित्र यी खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ।

यता, हवाई इन्धनको मूल्य भने घटाइएको छ। आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाइएको छ। मूल्य घटेसँगै आन्तरिक हवाई इन्धन प्रतिलिटर १२७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी ९६६ कायम भएको छ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ०.१२ पैसा, डिजेल/मट्टितेल प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसा बढेर आएको छ भने हवाई इन्धन प्रतिलिटर १ रुपैयाँ ०८ पैसाले घटेर आएको निगमको भनाइ छ।