पर्सा, १९ माघ /  सखुवा प्रसौनी गाउँपालिकामा समावेशी शासन र सामाजिक न्याय प्रवर्द्धन गर्ने उद्देश्यसहित IGNITE कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले समावेशी शासन केवल नीति निर्माणमा सीमित नरही व्यवहारमै कार्यान्वयन हुनुपर्ने आवश्यकता औँल्याएको छ।

कार्यक्रममा अपाङ्गता भएका महिला तथा किशोरीहरू शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियाबाट अझै पनि बहिष्कृत भइरहेका यथार्थ अवस्थाबारे गम्भीर छलफल गरिएको थियो। सहभागीहरूले स्वतन्त्रता केवल अधिकारको विषय मात्र नभई आत्मसम्मान, आत्मनिर्भरता र नेतृत्व विकाससँग गहिरो रूपमा जोडिएको विषय भएको धारणा व्यक्त गरे।

कार्यक्रमकी प्रशिक्षक तथा मुक्ति नेपाल, मधेस प्रदेशकी कार्यक्रम संयोजक श्याम कुमारी साह ले अपाङ्गता भएका महिला तथा किशोरीहरूले भोग्दै आएका वास्तविक चुनौती, पहुँचयुक्त (Accessible) तथा सुरक्षित वातावरणको आवश्यकता, साथै उनीहरूको आवाज नीति निर्माण प्रक्रियामा कसरी समेटिनुपर्छ भन्ने विषयमा प्रभावकारी प्रस्तुति दिइन्।

उनले भनिन्, रूपान्तरित र सुरक्षित वातावरण बिना समावेशी विकास सम्भव हुँदैन। अपाङ्गता भएका महिला तथा किशोरीहरूको सहभागिता बिना दिगो समावेशी शासनको कल्पना गर्न सकिँदैन। उनले यस्ता कार्यक्रमहरू एकदिने औपचारिकतामा सीमित नरही दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयनसँग जोडिनुपर्नेमा जोड दिइन्।

कार्यक्रम अन्तर्गत चार वर्षे परियोजनाको कुल बजेट ९० करोड १७ लाख ९६ हजार ४० रुपैयाँ रहेको जानकारी दिइयो। जसअनुसार कार्यक्रम लागत २५ लाख १३ हजार ८३४ रुपैयाँ, प्रशासनिक लागत ३ लाख ४ हजार २७९ रुपैयाँ गरी कुल लागत २८ लाख १८ हजार ११४ रुपैयाँ रहेको बताइएको छ।

यस कार्यक्रमका साझेदार संस्थाहरूमा नेपाल अपाङ्गता महिला सङ्घ (NDWA) परियोजना नेतृत्वकर्ता, मुक्ति नेपाल कार्यान्वयन संस्था, CBM Global Disability Inclusion प्राविधिक साझेदार तथा United Nations Trust Fund to End Violence Against Women (UNTF) आर्थिक सहयोगी संस्थाको रूपमा रहेका छन्।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव यादव ले स्थानीय सरकार समावेशी विकासप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अपाङ्गता भएका नागरिकहरूको अधिकार सुनिश्चित गर्न नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको बताए।
उनले सबै वर्ग र समुदायको आवाज समेटेर मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे।

त्यसैगरी कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट ले अपाङ्गता भएका महिला तथा किशोरीहरूको सशक्तीकरण स्थानीय सरकारको प्राथमिकतामा रहेको बताइन्।
उनले भनिन्, “कोही पनि पछाडि नपरोस् भन्ने विकासको मूल मर्मलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण छन्।” साथै कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको उल्लेखनीय सहभागितालाई उनले विशेष उपलब्धिका रूपमा उल्लेख गरिन्।

कार्यक्रममा गाउँपालिकाका छवटै वडाका वडा अध्यक्षहरू, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव , यात्रा डेलिका पत्रकार चिरञ्जीवी यादव, पत्रकार रामकिशोर चौधरी, शिक्षक समुदायका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमले सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै अपाङ्गता सम्बन्धी दृष्टिकोण परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको उद्देश्य अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई हिंसामुक्त, सम्मानजनक जीवन यापनको अधिकार सुनिश्चित गर्नु, स्थानीय सरकारका न्यायिक संयन्त्र र सेवा प्रणालीलाई लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणमैत्री बनाउनु, साथै सार्वजनिक पूर्वाधारहरूलाई अपाङ्गता समावेशी बनाउँदै हिंसा प्रभावित व्यक्तिहरू र तिनका परिवारलाई न्यायमा पहुँच दिलाउनु रहेको आयोजकले जनाएको छ।

IGNITE जस्ता पहलहरूले “कोही पनि पछाडि नपरोस्” भन्ने दिगो विकासको अवधारणालाई व्यवहारमा उतार्दै समावेशी शासनको आधार मजबुत बनाउँदै लैजाने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो।