पर्सा, १९ माघ। पोखरिया नगरपालिका अन्तर्गत नेपाली कांग्रेस क्षेत्र नं–३ को विस्तारित बैठक आज भव्य रूपमा सम्पन्न भएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त बैठकले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई बहुमतका साथ विजयी गराउने स्पष्ट लक्ष्य सहित महत्वपूर्ण रणनीतिक निर्णयहरू गरेको छ।

बैठकमा निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न समिति, उपसमिति तथा निर्वाचन परिचालन समिति गठन गरिएको छ। मतदाता शिक्षादेखि घरदैलो अभियान, भेला, आमसभा, प्रचार–प्रसार तथा संगठन सुदृढीकरणका विषयमा गहन छलफल गरिएको थियो।

बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले नेपाली कांग्रेस जनताको पार्टी भएको उल्लेख गर्दै संगठनलाई अझ मजबुत बनाउँदै निर्वाचनमा बहुमतका साथ विजय हासिल गर्ने लक्ष्यमा आफूहरू दृढ रहेको बताए। उनले भने, “कार्यकर्ता, युवा तथा स्थानीय नेताहरूलाई सक्रिय बनाउँदै घरदैलो, भेला र आमसभा मार्फत जनताको घर–घरमा पुग्नेछौं। जनताको समस्या र अपेक्षालाई प्राथमिकतामा राख्दै विकास र सुशासनको एजेन्डासहित चुनावमा होमिनेछौं।

कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं–३ का सभापति श्रीकृष्ण प्रसाद चौहानको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुरेन्द्र सिंहले गरेका थिए। बैठकले निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न भिन्न–भिन्न क्षेत्रीय तहमा संगठनात्मक संरचना मजबुत बनाउने र जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ।

यस अवसरमा उपस्थित कार्यकर्ता तथा स्थानीय नेताहरूले निर्वाचनमा पार्टीको व्यापक समर्थन जुटाउन घरदैलो अभियान, टोल–भेला तथा आमसभामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।

त्यसैगरी, “घर फर्क अभियान” अन्तर्गत पोखरिया नगरपालिका वडा नं–९ का अकबर मिया, सगिर मिया, भिखारी मिया, गया बैढा, नजमुल होदा लगायतका व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले कांग्रेसको विचार र नेतृत्वप्रति आस्था राख्दै पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकले पोखरिया नगरपालिकासहित सम्पूर्ण क्षेत्र नं–३ मा कांग्रेसको संगठन थप मजबुत हुँदै गएको सन्देश दिएको छ भने आगामी निर्वाचनमा सुरेन्द्र प्रसाद चौधरीको जित सुनिश्चित गर्ने दिशामा पार्टी पूर्ण रूपमा क्रियाशील बनेको स्पष्ट संकेत गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता, सक्रिय कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा शैलेन्द्र यादव, लालबहादुर यादव, दिनानाथ साह, सम्भु चौहान, विवेक चौरसिया, रमन्नद यादव, दिपनारायण रौनियार लगायतका नेताहरूले मन्तव्य राख्दै उम्मेदवार चौधरीको पक्षमा पार्टी एकढिक्का भएर अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले कांग्रेसको नीति, विचार र उम्मेदवारको इमानदार छवाका कारण यसपटक क्षेत्र नं–३ मा कांग्रेसको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।