पर्सा, २० माघ। पर्सा निर्वाचन क्षेत्र नं.–४ अन्तर्गत पर्ने धोबीनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजित घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

घरदैलो अभियानका क्रममा जसपा नेपाल पर्सा–४ का तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित पार्टीका नेता–कार्यकर्तासँगै स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको बताएका छन्।

कार्यक्रममा जसपा नेपालका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा युवामैत्री नीति पार्टीका मुख्य एजेन्डा रहेको उल्लेख गरे। साथै स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

जसपा नेपालले आगामी दिनहरूमा पर्सा क्षेत्र–४ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

घरदैलो कार्यक्रममा पूर्व मन्त्री तथा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका मा. सिंहगासन साह कलवार, धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, उमेश कुशवाहा, दीपक सराफलगायत पार्टीका धेरै नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।