पर्सा,२० माघ।पर्सा निर्वाचन क्षेत्र नं–३ अन्तर्गत पकहामैनपुर गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो जनसम्पर्क अभियानलाई थप तीव्र बनाएको छ। यसक्रममा गाउँपालिकाको वडा नं–३ र ४ मा जनसम्पर्क तथा वडा स्तरीय अगुवा कार्यकर्तासँग विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीको प्रमुख उपस्थिति रहेको थियो। उनले स्थानीय अगुवा कार्यकर्ता, पार्टीका नेता तथा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको रणनीति, स्थानीय समस्या तथा जनअपेक्षाका विषयमा गहन छलफल गर्नुभएको थियो।

भेटघाट कार्यक्रममा स्थानीय कांग्रेस कार्यकर्ता, युवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आ–आफ्ना क्षेत्रका समस्या, आवश्यकता र विकासका सम्भावनाबारे खुलेर धारणा राखेका थिए।

कार्यक्रमका क्रममा उम्मेदवार चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवनसँग गाँसिएका शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खानेपानी, सडक पूर्वाधार तथा सुशासनसम्बन्धी समस्या र अपेक्षाबारे जानकारी लिनुभएको थियो। उनले आफू केवल मत माग्न नभई जनताको वास्तविक समस्या बुझ्न र त्यसको दिगो समाधान खोज्न मैदानमा आएको स्पष्ट पार्नुभयो।

चौधरीले भन्नुभयो, जनताका आवाज नै मेरो मुख्य एजेन्डा हुन्। यहाँ उठेका शिक्षा, रोजगारी, स्वास्थ्य, खानेपानी र सुशासनसम्बन्धी विषयहरूले मेरो आगामी कार्यदिशा अझ स्पष्ट बनेको छ।”

स्थानीय बासिन्दाहरूले क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने, युवालाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने, स्वास्थ्य सेवाको पहुँच गाउँगाउँसम्म विस्तार गर्नुपर्ने, सुरक्षित खानेपानीको स्थायी व्यवस्था गर्नुपर्ने तथा प्रभावकारी र पारदर्शी सुशासनको माग गरेका थिए।

कार्यक्रममा चौधरीले स्थानीयले उठाएका सबै मुद्दाहरूलाई संसद्मा सशक्त रूपमा उठाउने र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, जनतासँग निरन्तर सम्पर्कमा रहेर विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउँदै आगामी दिनहरूमा पनि यस्ता जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो।

पकहामैनपुरमा कांग्रेसको यस किसिमको सक्रिय जनसम्पर्क अभियानले पार्टी संगठनलाई थप मजबुत बनाउनुका साथै स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।