पर्सा । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई नेपाल प्रहरी ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १९ निवासी ३२ वर्षीय अनिल कुमार गुप्ता रहेका छन्।

प्रमोद प्रसाद गुप्ताको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको बैंकिङ कसूर मुद्दा (मुद्दा नं. ०८०–C१–०९१२) मा पर्सा जिल्ला अदालत ले गुप्तालाई दोषी ठहर गरेको थियो। अदालतको फैसलाअनुसार उनलाई रु. ५ लाख जरिवाना, ३ दिन कैद तथा पीडित राहत कोषमा रु. २० हजार जम्मा गर्नुपर्ने सजाय तोकिएको थियो।

फैसला कार्यान्वयनका क्रममा फरार रहेका गुप्तालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले मिति २०८२/१०/१९ गते साँझ करिब ५ बजे कारागार कार्यालय पर्सा नजिकको सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुप्तालाई आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरीका अनुसार अदालतका फैसला कार्यान्वयन अभियानलाई थप प्रभावकारी बनाउँदै फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने कार्य निरन्तर जारी रहनेछ।