वीरगञ्ज, माघ २०Birgunj Ladies Circle–3 को आयोजनामा “आओ एक घर बसाए” शीर्षकको सामूहिक विवाह कार्यक्रम मंगलबार वीरगञ्जस्थित Jain Dharamshala मा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ११ जोडी युवक–युवतीको वैवाहिक संस्कार सम्पन्न गराइँदा नवदम्पती र उनीहरूका परिवारमा उत्साह र खुसीको वातावरण देखिएको थियो।

कार्यक्रमको उद्घाटन Ladies Circle Nepal की केन्द्रीय अध्यक्ष Shivani Agrawal र वीरगञ्ज लेडिज सर्कलकी अध्यक्ष Nandani Agrawal ले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा आर्थिक अभावका कारण विवाह रोकिन नपरोस् भन्ने उद्देश्यले सामूहिक विवाह आयोजना गरिएको र यसले समाजमा आपसी एकता तथा भाइचारालाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नवदम्पतीहरूको बारात नगर परिक्रमा आयोजना गरिएको थियो। दुल्हाहरू नाचगानसहित जैन धर्मशालामा पुगेका थिए, जहाँ बधुपक्षले द्वारपूजा गरी स्वागत गरेको थियो। त्यसपछि वरमाला, कन्या निरीक्षण, अग्नि फेरा लगायत वैदिक विधिअनुसार विवाह सम्पन्न भई नवदम्पतीहरूलाई सामूहिक रूपमा विदाइ गरिएको थियो।

लेडिज सर्कल–३ ले नवदम्पतीहरूलाई आभूषण, बिछिया, औँठी, पायल, नथ, घडी, सुटकेस, साडी, शर्ट–पाइन्ट, शाल, टोपी, बेड सेट, झुल, ग्यास चुल्हो, राइस कुकर, हिटर, पंखा, भाँडाकुँडा तथा चामल, आटा, बेसन जस्ता दैनिक उपभोग्य सामग्री उपहारस्वरूप प्रदान गरेको थियो।

कार्यक्रममा वीरगञ्जका समाजसेवी, सामाजिक अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नवदम्पतीका परिवारजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने भन्दै लेडिज सर्कल परिवारप्रति आभार व्यक्त गरेका थिए./