काठमाडौँ,२१ माघ — पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशअनुसार थुनामा परेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले गुप्ताको निवेदनलाई सुनुवाइका लागि पेसी तोकेको हो।

विशेष अदालतले धरौटी नलिई पुर्पक्षका लागि थुनामा पठाएपछि गुप्ताले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सो निवेदन सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी चढाइएको छ।

यसअघि गुप्ताको निवेदनमाथि न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीको ७३ नम्बरको निवेदन परेको छ कि छैन भन्ने विषयमा जानकारी लिन आदेश दिएको थियो।

पोखरास्थित लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगको सदस्य बनाइदिने प्रलोभन देखाउँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गुप्ता र अर्की पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराइदिने बहानामा २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ।

अदालतमा बयान दिँदै गुप्ताले आफूमाथि लागेको आरोप असत्य भएको र कसैबाट घुस नलिएको जिकिर गरेका थिए। तर तत्काल उपलब्ध प्रमाणका आधारमा उनलाई निर्दोष ठहर गर्न नसकिने भन्दै अदालतले थुनामा राख्ने आदेश दिएको थियो।