पर्सा, २२ माघ।रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ।

दुर्घटनापछि गाडीमा रहेका उम्मेदवार सगिर आलम र चालक घटनास्थलबाट फरार भएका छन्। प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया नाबालिका खातुनको सवारी दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ। मृतक बालिका सोही स्थान निवासी शेख साजिरकी छोरी हुन्।

बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको बताइएको छ। घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक रिजालले बताए।