पर्सा, २२ माघ। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा बिहीबार नेकपा एमालेको पालिकास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त भेलामा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा पार्टीको संगठनात्मक मजबुती, जनसम्पर्क विस्तार तथा प्रभावकारी चुनावी रणनीतिबारे व्यापक छलफल गरिएको थियो।

भेलामा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले पर्सा–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति खुला समर्थन जनाउँदै आगामी निर्वाचनमा विजयको शुभकामना व्यक्त गरेका थिए। सहभागीहरूले युवा नेतृत्वमार्फत क्षेत्रको समग्र विकास सम्भव हुने विश्वाससमेत व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र दिगो विकासका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको धारणा राखे। उनले पर्सा–३ मा परिवर्तनको भरोसायोग्य आधार बनेका युवा उम्मेदवार रूपेश कुमार पाण्डे पार्टीका मात्र नभई आम जनताको आशा र विश्वासको प्रतिनिधि भएको उल्लेख गर्दै संगठन एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्नेमा जोड दिए।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका विद्यमान समस्या, जनताको पीडा तथा विकासका अवरोधहरूलाई स्पष्ट रूपमा औंल्याउँदै समाधानमुखी र व्यवहारिक दृष्टिकोण प्रस्तुत गरे। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै उनले “अब पर्सा–३ लाई भाषण होइन, प्रत्यक्ष परिणाम चाहिएको छ” भन्ने सशक्त सन्देश दिए।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवंत यादवले स्थानीय तहको विकास, सेवा प्रवाह र जनताको जीवनस्तर उकास्न संघीय सरकार र प्रतिनिधिसभामा बलियो आवाज आवश्यक रहेको बताए। उनले गाउँपालिकामा भएका विकास प्रयासहरूलाई निरन्तरता दिन र थप बजेट तथा योजनाहरू भित्र्याउन प्रतिनिधिसभामा एमालेको जित अनिवार्य रहेको उल्लेख गर्दै युवा उम्मेदवार पाण्डेलाई विजयी गराउन सबै कार्यकर्तालाई एकजुट हुन आग्रह गरे। अध्यक्ष यादवले स्थानीय सरकार र संघीय प्रतिनिधिबीचको सहकार्यले मात्र समग्र विकास सम्भव हुने स्पष्ट पारे।

नेकपा एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष शिवनरायण महतोको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, एमाले नेतृ फुलमती चौधरी, बासुदेव थारू लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउने निर्णयसमेत गरेको छ।