पर्सा |  पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–३ का किसानहरूले रासायनिक मल नपाएको गुनासो गर्दै गाउँपालिकामा निवेदन दर्ता गराएका छन्। सरकारले अनुदानमा उपलब्ध गराउने मल लामो समयदेखि नपाउँदा खेतीपाती प्रभावित भएको भन्दै किसानहरू आन्दोलित बनेका हुन्।

निवेदनमा उल्लेख भएअनुसार गाउँपालिकाले किसानका लागि छुट्याएको ३० बोरा युरिया मल वितरणको जिम्मा पाएको श्री कोपिला कृषि सहकारी संस्था लिमिटेडले वास्तविक किसानलाई नदिई अन्य व्यक्तिलाई बिक्री–वितरण गरी अनियमितता गरेको आरोप लगाइएको छ। साथै, सो सहकारीले विगत चार वर्षदेखि किसानहरूलाई मल वितरण नगरेको दाबी गर्दै दोषी पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न र तत्काल मल उपलब्ध गराइदिन माग गरिएको छ। किसानहरूले समस्या समाधान नहुन्जेलसम्म उक्त संस्थालाई थप मल वितरण नगर्न आग्रहसमेत गरेका छन्।

यस विषयमा सखुवा प्रसौनी गाउँपालिकाको कृषि शाखाका प्रमुख दायाराम बाग्लेका अनुसार केही दिनअघि किसानहरू र सहकारीबीच छलफल भएको थियो। छलफलका क्रममा सहकारीले गल्ती स्वीकार गर्दै किसानहरूसँग माफी मागेको र आगामी दिनमा यस्ता कमजोरी नदोहो¥याउने प्रतिबद्धता जनाएको उनले बताए। साथै, अर्को कोटा आउँदा ३० बोरा मल छुट्याएर सुरक्षित राखी बाँकी मल वितरण गर्ने आश्वासनसमेत दिइएको कृषि शाखाले जनाएको छ।

तर सखुवा प्रसौनी–३ का दिपनारायण प्रसाद यादव, बालेश्वर यादव, चनदेश्वर साह कानु, रुदल साह कानु, अमिरका साह कानु, राजमन राजत, महेन्द्र साहु गोढ, रोहित साह गोढ, राजु राउत, कमल राउत, प्रमोद यादव, जगलाल साह कानु, शिवशंकर राउत अहिर, चन्दर राउत अहिर, शेषनाथ साह कानु, लक्ष्मण साह कानु र सुनर साह कानुलगायत किसानहरूले माफी मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूको भनाइमा मलको अभावले खेतबारी बाँझो पर्ने अवस्थामा पुगेकोले तत्काल मल उपलब्ध गराइनुका साथै सहकारीमाथि कडा कारबाही आवश्यक छ।

यसअघि सखुवा प्रसौनी गाउँपालिका–२ मा देखिएको रासायनिक मलको समस्या केही दिनअघि मात्रै समाधान भएको थियो। त्यही समाधानको क्रममै वडा नं. ३ मा पुनः मल वितरणसम्बन्धी विवाद सतहमा आउनुले स्थानीय तहको मल व्यवस्थापन प्रणाली र अनुगमनप्रति गम्भीर प्रश्न उठाएको छ।