पर्सा, २२ माघ।वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) हुँदै भारततर्फ गइरहेको एक भारतीय नम्बर प्लेटको ट्रकबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। हरैया प्रहरीले गोप्य सूचनाको आधारमा गरिएको कारबाहीमा उक्त ट्रकबाट चार क्विन्टल २२ किलो १९६ ग्राम गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार नेपालबाट आईसीपी नाका पार गरी भारतको रक्सौलतर्फ गइरहेको उक्त ट्रक ओभरब्रिज नजिक पार्क गरेर राखिएको अवस्थामा शंकास्पद देखिएपछि निगरानीमा लिइएको थियो। त्यसपछि ट्रकको सूक्ष्म खानतलासी गर्दा ट्रकभित्र विशेष रूपमा बनाइएको फल्स बटम (दुई तहको भुइँ) भित्र लुकाएर राखिएको २९ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरीलाई छल्दै फरार हुन खोजिरहेका ट्रक चालकलाई समेत नियन्त्रणमा लिइएको छ। रक्सौल प्रहरीले पक्राउ परेका चालक सञ्जयकुमार साह रहेको पुष्टि गरेको छ। उनी नेपालको बारा जिल्ला, कलैया उपमहानगरपालिका–९, नौवतन निवासी रहेको रक्सौलका डिएसपी मनीष आनन्दले जानकारी दिएका छन्।

बरामद गरिएको लागूऔषध र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसरी सीमावर्ती क्षेत्र हुँदै ठूलो परिमाणमा लागूऔषध ओसारपसार हुने क्रम बढ्दै जानुले लागूऔषध तस्करहरूले सुरक्षा संयन्त्रलाई खुला चुनौती दिइरहेका छन् भन्ने संकेत गरेको छ। घटनापछि सीमावर्ती क्षेत्रका सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि थप कडाइ गर्नुपर्ने आवश्यकता देखिएको भन्दै यस विषयमा स्थानीयस्तरमा व्यापक चर्चा भइरहेको छ।